
काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ ।
मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस अघि २०७४ मा संघीय संरचना अनुसार स्थानीय तह,संघीय संसद प्रतिनिधि र प्रदेश सभा पहिलो निर्वाचन भएको थियो । २०७२ असोज ३ गते संविधान सभाबाट संघीय संरचना अनुसार संविधान जारी भएपछि त्यही अनुरुप पहिलो निर्वाचन २०७४ मा भएको हो । त्यसको ५ वर्ष बितेपछि यो दोस्रो पटक निर्वाचन हुन लागेको हो ।
प्रजातन्त्रको जग भनेकै आवधिक निर्वाचन हो । निर्वाचनमा आम मानिसहरुको सहभागिता रहने भएकाले आम निर्वाचन भन्ने गरिएको हो । स्थानीय तहको दोस्रो निर्वाचन भने गत बैशाख ३० गते भएको थियो । आज प्रतिनिधि सभाका तर्फ १६५ सिट र ७ वटै प्रदेशको प्रदेश सभाका ३३० सिटका लागि प्रत्यक्ष मतदान हुन लागेको हो । त्यसै गरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फ पनि पनि मतदान हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी गरिसकेकाले निर्धक्कसँग मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गरेको छ । निर्वाचन आयोगका अनुसार २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । जसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदातको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य मतदाताको संख्या १८५ रहेको छ ।
मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ ।सरकारले निर्वाचनका लागि सबै ब्यवस्था गरेको छ । गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइएको जनाएको हो ।
निर्वाचनमा झण्डै साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मन्त्रालयका अनुसार नेपाली सेना,नेपाल प्रहरी, शशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी र २ लाख ४६ हजार ९ सय ६० कर्मचारी निर्वाचन सम्पन्न गर्न खटिएका छन् । आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्