
काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाता उत्साही नदेखिएको बताएका छन् ।
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साजनक मतदाताको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाता भोट हाल्न पुगेको पाएको बताए ।
आजै दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण अघि बढेपनि मतदाताको उपस्थिति कम भएको बताउनुभयो ।
यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताउनुभयो ।
यस्तै, पूर्व गृहसचिव खेमराज रेग्मीले निर्वाचन शान्त र सौहार्दपूर्ण वातावरणमा भएको पाइएपनि काठमाडौंको मुख्य बस्तीमा भने मतदाताहरुको उत्साह कम देखिएको बताउनुभयो ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिनुभयो । यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि यस पटक विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताउनुभयो । यस्तै, पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्