२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्याग्दीमा ६० प्रतिशत मत खस्यो


91
Shares

म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ६० प्रतिशत सत खसेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । म्याग्दीका मतदानस्थलबाट मतपेटिका संकलन गरि गणनास्थल सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा लग्न सुरु भएको छ । अहिलेसम्म १६ वटा मतदान स्थलका मतपेटिका मत गणनास्थल सम्म आइपुगेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच/पाँच जना उम्मेदवार रहेका छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको थियो। निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।