
म्याग्दी । म्याग्दीको दुर्गम मतदान केन्द्र धाैलागिरी गाउँपालिका-१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका साेमबार पैदल मार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइएकाे छ ।
साेही मतपेटिकाहरु बेनीमा ल्याएपछि मात्र आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका मतगणना म्याग्दीमा आज सोमबार रातिबाट सुरु हुने भएको हाे । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा समय लाग्छ ।गुर्जाबाट बिहानै कडा सुरक्षाकाबीच मतदान अधिकृतसहितको टोली मतपेटिका पैदल मार्ग हुँदै सदरमुकाम बेनीतर्फ प्रस्थान गरेकाे सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
आइतबार मतदान सकिएपछि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाईका कारण सोमबार बिहानै प्रस्थान गरेको गुर्जाकी निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयाे। उहाँका अनुसार लुलाङसम्म पदैल र त्यहाँकाे तयारी अवस्थामा रहेको सवारीसाधनबाट सदरमुकाम बेनी ल्याइने भएकाे छ। दुवै मतदान केन्द्रबाट हिडेको टोली सोमबार साँझसम्म सदरमुकाम बेनी आइपुग्ने र सोमबार साझँदेखि नै मतगणना हुनेछ ।
जिल्लाका अन्य ८० वटा मतदानस्थलबाट मतपेटिक भने सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिमा रहेको मतगणना स्थलमा आइपुगेको छ । गुर्जा र बगराको बाहेक अन्य सबै मतदान केन्द्रका मतपेटिका आइतबार राति मतगणना स्थलमा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयाे ।
समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्