
सोलुखुम्बु । सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ ।
१ सय ३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । खुम्बुका ११ वटा मतदान केन्द्र मध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी ल्याइएको छ। बाँकी ९ स्थानको मतपेटिकाहरु संकलन पश्चात हेलिकाेप्टर मार्फत ल्याउने तयारी गरिएको छ ।
लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किञ्जामा संकलन गरेर राखिएकाले आज साेमबार गाडीमार्फत ल्याउने सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो । ८ गाउँपालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र रहेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।
८१ हजार ५ सय २ मतदाता रहेको जिल्लामा करिब ३९ हजार ४ सय ३३ मत खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्