
बैतडी । बैतडीमा आइतबार सम्पन्न भएकाे प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मगतणना अहिलेसम्म हुन सकेको छैन ।
जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाई भएपछि अहिलेसम्म मतगणना कार्य हुन नसकेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज साेमबार बिहान मात्रै बैतडीकाे सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलाई भएको हो । साेमबार बिहान मात्रै मतपेटिका ढुवानी सम्पन्न भएको उहाँले बताउनुभयाे । सर्वदलीय बैठक बसेपछि मात्र मतगणनाको समय तोकिने उहाँले बताउनुभयाे ।
बैतडीमा मतगणनाका लागि एक मात्र स्थान तोकिएको छ । सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना हुने भएकाे छ । मतगणनास्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न भएकाे निर्वाचनमा बैतडीमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । १ लाख ५० हजार १ सय ५६ मतदाता रहेकाेमा ७८ हजार ४ सय १६ मत मात्रै खसेकाे थियाे । जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
जिल्लामा २ सय १० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएकाे थियाे । बैतडीमा २ हजार ५ सय सुरक्षाकर्मी र १ हजार ६ सय ८४ जना निर्वाचनका लागि जनशक्ति परिचालन गरिएकाे थिएयाे । प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेश सभाका दुई सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा रहेका छन् ।
प्रदेश सभा क्षेत्र नम्बर १ मा ६ र प्रदेश सभा क्षेत्र नम्बर २ मा ५ जनाले उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्