२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो


2.821k
Shares

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् ।

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियो ।

जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्कदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो ।

जिप सडकबाट करीब ३ सय मिटर तल खोलामा खसेको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।