१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमको आङ्दिममा पुनः मतदान हुने


143
Shares

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । तेह्रथुमका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा पत्रलेखि पठाएको छ ।

सोही मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी मतगणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न माग गरेको र सो निर्णय बमोजिम आयोगमा पत्र लेखेर पठाएको बताउनुभयाे ।

सोही केन्द्रमा ८ सय ४४ मतदाता रहेका छन् । जस मध्ये आइतबार ४ सय ५६ जनाले मतदान गरेका थिए ।