९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाजुरामा अनेरास्ववियुका नेता चेतन अयडीको मृत्युपछि मार्तडीमा प्रदर्शन


91
Shares

महेश कुमार कार्की

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा आइतबार मतदानका क्रममा भएको घटनामा सुरक्षाकर्मीले लापरबाही गरेको विषयलाई लिएर नेकपा एमालेका समर्थक युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले अनेरास्ववियुका नेता चेतन अयडीको मृत्युकाे विषयलाई लिएर बाजुराकाे सदरमुकाम मार्तडी बजार समेत बन्द गरेका हुन् । एमालेका युवाहरुले सोमबार सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाट बजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामञ्चमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

आइतबार मतदान सम्पन्न भएपछि त्रिवेणी नगरपालिका-७ मा अनेरास्ववियुका नेता चेतन अयडी घरभित्र बसिरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गर्दा पनि सुरक्षाकर्मीहरुको लापरबाहीका कारण मृत्यु भएको भन्दै मार्तडीमा बजार बन्द गरिएको अनेरास्ववियुका नेता राजिव रोकायाले बताउनुभयाे ।

मतदान सम्पन्नपछि कांग्रेस कार्यकर्ताको कुटाईबाट घाइते भएका अयडीको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै आइतबारकै घटनामा सुरक्षाकर्मीको गोली लागेर त्रिवेणी नगरपालिका-७ का सञ्जिव अयडीको घटनास्थलमा मृत्यु भएको थियो ।

मार्तडीमा मृतक दुवै जनाको न्यायका लागि भन्दै एमाले समर्थक युवाहरुले बजार बन्द र मतगणनास्थल अगाडि टायर बालेर विरोध गरेपछि मार्तडीमा नेपाली सेना परिचालन गरिएको छ ।