
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार हेलिकोप्टरमा प्रतिपटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुई वटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी ल्याइएको छ भने नौ वटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकोप्टरबाट ल्याइएको हो ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार ९ सय ८७ मतदाता मध्ये दुई हजार ६ सय ४७ अर्थात ४४ दशमलब २१ प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्