१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतपरिणाम नआउँदै प्रधानमन्त्री पदमा सौदाबाजी


20.566k
Shares

काठमाडौं । चुनाव नहुँदै प्रधानमन्त्रीका लागि दावी पेस गर्दै आएका नेताहरुले चुनावमा विजय हुना साथ त्यसप्रति आफ्नो आकांक्षा थप प्रगाढ बनाउन थालेका छन् । चुनाव जितेकै दिनदेखि एकपछि अर्को नेतामा त्यो मोह देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी प्रमुखमा उभ्याएर मत मागेको थियो । प्रारम्भिक नतिजाबाट हौसिएका भर्खरै न्वारान भएका पार्टी नेतामा समेत नेतृत्वको रहर पलाउन थालेको छ ।

ज्योतिषले सात पटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणी गरेका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक डडेलधुराबाट संसदमा खुट्टा टेक्ने तर्खरमा हुनुहुन्छ । उहाँ तीन दशकदेखि संसदमा निरन्तर प्रतिनिधित्व गर्ने शीर्ष नेता हुनुहुन्छ । प्रत्यक्ष दावी नगरे पनि चुनावी परिणामपछि कांग्रेस ठूलो पार्टी बनेको खण्डमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि बढाउन उहाँका समर्थकहरुको दबाब बढ्ने निश्चित छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतमार्फत आउने गरेको अभिव्यक्ति यसैको पूर्वाभ्यास हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको समृद्धि र विकासका लागि आफू प्रधानमन्त्री हुन चाहेको धारणा पटक पटक सार्वजनिक गर्दै आउनुभएको छ । चुनावी परिणाममा खुम्चिदै गएको माओवादीका लागि यो यात्रा कति सहज होला, त्यो भने हेर्न बाँकी छ ।

भावी प्रधानमन्त्रीको दौडमा धेरै नेता छन् । कांग्रेसभित्र देउवा अलावा रामचन्द्र पौडेल, गगन थापा, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले त योजनावद्ध रुपमै आफू संसदीय दलको नेतामा लड्ने पूर्व घोषणा गर्नुभएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफ्नो रुचि सार्वजनिक गर्दै आउनुभएको छ । कांग्रेसकै कतिपय नेतामा प्रधानमन्त्रीको चाहना भए पनि अन्तर्घातको भयले उनीहरु बोल्न सकिरहेका छैनन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना अध्यक्ष राजेन्द्र लिङदेनलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउन थालेको छ । आश्चर्यजनक चुनावी परिणाम हात परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकको कार्यकारीमा आफ्नो रहर प्रकट गर्न थालिसक्नु भएको छ । तेस्रो दलले बाजी मारेको नजिरले धेरै दलका नेताको महत्वाकांक्षा बढेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त सरकारमा रहँदा आफूले थालेको तर पूरा हुन नसकेको सुखी नेपाली र समृद्ध नेपालको यात्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट मात्र हुन सक्ने निष्कर्ष निकाली यसै विषयलाई प्रमुख चुनावी एजेण्डा बनाएको थियो । जो जसले मुलुकको कार्यकारीमा रहर देखाए पनि सरकारी संयन्त्र अग्रगतिमा लैजाने भरपर्दो योजना कसैसँग छैन । राज्य सञ्चालन प्रक्रियामा जनताको गुनासो बढिरहँदा नेताहरुको यसखाले हावादारी रहरप्रति भने जनताले कति पनि रुचि देखाएका छैनन् ।