
डडेल्धुरा । प्रदेशको मुख्यमन्त्री दिने आश्वासनमा प्रदेश उम्मेदवार बनेका बाम–लोकतान्त्रिक गठबन्धनका नेता खगराज भट्ट डडेल्धुराको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित हुनुभएको छ । २ हजार ९ सय १७ बढि मतान्तरले भट्ट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
विजयी हुनुभएका नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले १२ हजार १ सय १२ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी पूर्व मन्त्री पठान सिंह बोहराले ९ हजार १ सय १५ मत पाउनु भयो ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहनुभएका भट्ट २०६४ को पहिलो र २०७० को दोश्रो संबिधान सभा तथा २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन सहित तीन पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो ।
खगराज प्रदेशसभा–१ मा विजयी भएसँगै मुख्यमन्त्रीका लागि बाटो खुल्नुका साथै पार्टीको सुबिधाजनक जनमत आएमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको घोषणा र आश्वासन अनुसार अबको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ ।
कार्तिक २० गते पर्शुराम चुनावी आमसभामा सम्बोधनका क्रममा देउवाले ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो । मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्, तपाईंहरू जिताएर पठाउनुस’ भन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्