
राजनीतिक बागडोर सम्हाल्नेहरुले जनताको मन नजितेपछि पाँच वर्षमा एकपटक पाइने अवसर उपयोग गरेर मतदाताले मतमार्फत नयाँ प्रतिनिधिलाई वारेस बनाएर पठाएका छन् । एकातिर पढेलेखेका सन्तानले राजनीति गर्नुहुन्न भन्ने धारणा प्रवल भइरहँदा डाक्टर, ईन्जिनीयर, कानुन व्यवसायी, उद्योगी मात्र हैन, अक्षरको खेती गर्नेहरु समेत सार्वभौम संसदमा खुट्टा टेक्ने भएका छन् ।
चुनावका नतिजा धमाधम सार्वजनिक भइरहँदा विभिन्न पेशाको पृष्ठभूमि भएका उम्मेदवारलाई जनताले मन र मत दिएर पठाएका छन् । अहिलेको चुनावमा हस्तक्षेपकारी भूमिका निर्वाह गरी देशभर उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक रवि लामिछाने पेशाले सञ्चारकर्मी हुनुहुन्छ । घरदेश, परदेश जता रहेपनि झण्डै साढे दुई दशकदेखि उहाँ सञ्चारकर्ममा रहिआउनु भएको थियो । एकाध वर्षदेखि मुलुकको परिस्थितिमा सुधार ल्याउने उद्देश्यले सञ्चारकर्म छोडेर लामिछाने नयाँ दलसहित राजनीतिमा उदाउनु भएको हो । काँग्रेसका पुराना नेता वीरेन्द्रभक्त श्रेष्ठका छोरा विराजभक्त श्रेष्ठ पेशाले इन्जिनियर हुनुहुन्छ । तर पारिवारिक विरासत सम्हालेर हैन, युवापुस्ताको अन्तरमनको आवाज सुनेर घण्टी चुनाव चिन्हमार्फत उहाँले काठमाडौंका मतदाताको मन जित्नुभयो । सामाजिक अभियन्ता बनेर खासगरी सुशासनको आवाज उठाउँदै आएका युवा ज्ञानबहादुर शाहीलाई अन्तत : जुम्लाका जनताले कर्णालीको आवाज उठाउने जिम्मेवारी दिएर राष्ट्रिय प्रजनतन्त्र पार्टीका तर्फबाट संघीय संसदमा पठाए ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि एकलव्य भएर आवाज उठाउँदै आएका प्राध्यापक डा.गोविन्द केसीको अभियानमा हिँड्दै गएपछि डा. तोसिमा कार्कीलाई लाग्यो– नीति निर्माण तहमा आफू नपुगी सुधार ल्याउन सकिन्न । अनि चुनावी संग्राममा उत्रिएकी तोसिमालाई ललितपुरबासीले व्यक्तिको हैन, बेथितिको शल्यक्रिया गर्ने अधिकार सुम्पिएर पठाए । तोसिमाजस्तै सोभिता गौतमलाई कानुनको पैरवी र सञ्चारकर्म गर्दै जाँदा चुनाव संघारमै आयो । अब जनप्रतिनिधि किन नबन्ने ? आखिर त्यही प्रश्नको उत्तर खोज्न जनता माझ पुग्दा मतदाताले उहाँका एजेण्डा पत्याइदिए । शिक्षा क्षेत्रमा काम गरेका शिशिर खनाल, व्यवसायी गणेश पराजुली समेत काठमाडौंमा वर्षौंदेखि जरोकिलो गाढेका दलहरुलाई विस्थापित गरेर आफ्नो विचार रोप्न सफल हुनुभयो । शेयर बजारमा रमाइरहेका हरि ढकालले चितवन क्षेत्र नम्बर १ बाट नयाँ जनप्रतिनिधिको रुपमा संसदमा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ । पर्यटन र राजनीतिलाई एकसाथ अघि बढाउँदै आएका मुस्ताङका २९ वर्षे युवा योगेश गौचन थकालीले आफ्नो पिता रोमी गौचनलाई चुनाव हराउने विरुद्ध चुनावी युद्ध गर्ने संकल्प गरे ।
आखिर काँंग्रेसको पहिलो खाता खोल्ने सुयोग यिनै युवालाई जुर्यो । राजनीतिमा कपाल पकाएकाहरु मतदाताको मतबाट बढारिँदा केही अपवाद दृश्य देखिएका छन् । ज्यान मुद्दामा आजीवन जेल सजाय भोगिरहेका रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ, भाइ गंगाराम चौधरी र बाबु लालवीर चौधरीका लागि सांसद पद सुनिश्चित भयो । प्रतिशोधको आगो अझै ननिभेको रुपमा यो परिणामलाई विश्लेषण गर्ने गरिएको छ । यस्तै अमेरिकाबाट दीक्षित भएर आएका डा. सिके राउतको पनि संसदमा परीक्षण हुनेछ । नयाँ अनुहारका लागि संसद जीतको नभएर कर्तव्यको गन्तव्य हो । नीति निर्माण तहमा पुगेका यी जनप्रतिनिधिलाई अब पछाडि फर्कने सुविधा छैन । न त अरुलाई दोष दिएर धारे हात लगाउने । जनताको मतमार्फत प्राप्त मनका आवाज सार्वभौम संसदमा प्रतिध्वनित गराउने जिम्मेवारीबाट उनीहरुको अग्निपरीक्षा शुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्