
एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो ।
यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।
खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को रोमान्चक जित दिलाए । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।
यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा इरान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्