
काठमाडौं । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ ।
आइतबार दिउँसोसम्म प्रतिनिधि सभाका कूल १६५ क्षेत्र मध्ये १५६ क्षेत्रको मतपरिणाम घोषणा भइसकेको छ । घोषित परिणाम मध्ये नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ स्थानमध्ये ५३ स्थान जितेको छ । त्यस्तै नेकपा एमालेले ४१ स्थानमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १७ स्थान जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले १० स्थान,राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७÷७ स्थानमा जित हात पारेका छन् । यस्तै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी ४ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १, र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जितेका छन् भने स्वतन्त्रले ५ सिट हात पारेका छन् । यसैगरी प्रदेश सभाका घोषित परिणाम मध्ये काँग्रेसले १०४,नेकपा एमालेले ८६,माओवादी केन्द्रले ५३,नेकपा एकीकृत समाजवादीले १३,राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ स्थानमा विजय प्राप्त गरेका छन् । प्रदेश सभामा स्वतन्त्रले १२, जनता समाजवादी पार्टीले ९,लोकतान्त्रिक समाजवादीले ९,जनमत पार्टीले ७ र नागरिक उन्मुक्ति पार्टीले ५ स्थान हात पारेका छन् । सातै प्रदेश गरेर प्रदेश सभामा ३३० सिट रहेका छन् । बाँकी केही क्षेत्रको परिणामा आउन बाँकी छ ।
कहाँ कहाँ छ गणना गर्न बाँकी ?
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका दोलखा र बाजुराको मतगणना हुन बाँकी छ । त्यसैगरी स्याङजा क्षेत्र नम्बर –२ को पनि मतगणना हुन सकेको छैन ।
बाँकी ६ वटा क्षेत्रको मतगणना भइरहेको छ । त्यसमा काँग्रेसले ३ स्थान,नेकपा एमालेले २ स्थान र जनता समाजवादी पार्टीले १ स्थानमा अग्रता लिएका छन् । मतगणना जारी रहेका सुनसरी क्षेत्र नम्बर –४,उदयपुर क्षेत्र नम्बर –१ र धनुषा क्षेत्र नम्बर –४ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । यद्यपि सुनसरी ४ मा बिवाद उत्पन्न भएपछि मतगणना सुचारु हुन सकेको छैन । यसैगरी इलाम क्षेत्र नम्बर–१ मा र सुनसरी क्षेत्र नम्बर –३ मा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर –१ मा जनता समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन आयोगले मंगलबारसम्म ३ जिल्ला बाहेकको निर्वाचनको सबै परिणाम आउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्