२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अबको सरकार बन्ने छ खिचडी


6.903k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एक साता बित्दा पनि सकिएको छैन । नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपरिणाम अनुसार सहज ढंगमा सरकार गठन नहुने परिस्थिति बनेको बताइसक्नुभएको छ । उहाँले सत्ता र शक्तिका लागि हुने दाउपेचले मुलुकमा राजनीतिक अस्थिरता आउने प्रक्षेपण गर्नुभएको छ । बहुमतको लक्ष्यसहित कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावी तालमेल गरे पनि त्यो सफल हुने नहुने यकिन भएको छैन ।

सरकार बनाउने एकलव्य उद्देश्यसहित चुनावी मैदानमा गएको एमालेका लागि चुनावी परिणाम अप्रत्याशित र झड्कालाग्दो बनेको छ । उन्मादमा तोडिएको सिंगो कम्युनिष्ट पार्टीको सम्बन्ध चुनावमा ठक्कर खाएपछि अहिले ब्यूँताएर कम्युनिष्ट पार्टीको संयुक्त सरकार बनाउने आवाज उठाउनेको संख्या पनि उत्तिक्कै छ ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये यो विवरण तयार हुँदासम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ । समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ र कसको कति सिट आउँछ भन्ने लगभग तय भइसकेको छ । प्रतिनिधिसभामा समानुपातिकसहित २७५ सिट छन् । प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलले ११० सिट जित्छन् । नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको नबन्ने निश्चित छ ।

सरकार बनाउन कम्तिमा सामान्य बहुमत चाहिन्छ । त्यो भनेको १३८ हो । अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सामान्य बहुमत पु¥याउने देखिएको छ । यो गठबन्धनमा कांग्रेससहित माओवादी, नेकपा समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका विषयमा सत्ता साझेदार दल माओवादीका अध्यक्ष दाहालसँग एक चरण छलफल गरिसक्नुभएको छ ।

अर्कातिर एमाले पनि गठबन्धन गरेर चुनावमा गएको हो । उसको नेतृत्वमा जनता समाजवादी पार्टी र राप्रपा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी बिना कुनै गठबन्धन चुनाव लडेका हुन् । यिनले ३३ सिट हात पारेका छन् ।

कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र लडेर जितेका अमरेशकुमार सिंह, एमाले छाडेका पूर्व माओवादी प्रभु साह र उनी निकट किरणकुमार साहले जित हात पार्नुभएको छ । उहाँहरु कुनै न कुनै गठबन्धनमा जाने पक्का छ ।

पछिल्लो आँकडा हेर्ने हो भने सत्तारुढ गठबन्धनको कुल सिट सामान्य बहुमतको हाराहारीमा पुगेको छ । पुराना दल र नेतालाई नदोहो¥याउने जतिसुकै सशक्त आवाज उठे पनि परिणामले पहिलाकै बिन्दुमा पु¥याएको छ ।