१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पश्चिम म्याग्दीमा विकासको बाधक बन्दै घुम्ती गोठ


91
Shares

म्याग्दी । पश्चिम म्याग्दीका ३ वटा गाउँपालिकाका ग्रामीण क्षेत्रमा परम्परागत घुम्तीगोठ विकास र समृद्धिका लागि बाधक बनेको पाइएको छ ।

पश्चिम म्याग्दीमा रहेका खाली जग्गा उर्वर र कृषि, जडिबुटी उत्पादनका लागि अब्बल मानिए पनि त्यस्ता खाली ठाउँहरू घुम्ती गोठले ओगट्ने गरेका छन् । परम्परागत रुपमा राखिदै आएका त्यस्ता घुम्ती गोठहरुबाट स्थानीयले गाउँमा नै आवश्यक पर्ने दुध, दही, घिउ र मासु त उत्पादन गर्ने गर्दछन् । तर त्यसलाई बिक्री गरेर आम्दानी गर्न भने सकेका छैनन् ।

धौलागिरी गाउँपालिका वडा नं ३ मुनाको हजारौं रोपनी जग्गामा कहिकतै फाट्ट-फुट्टरूपमा आलु खेती बाहेक अरू जमिन बाँझै पल्टिएको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाई-भैैसी, गोरू र बाख्रा पाल्ने अस्थायी गोठको रुपमा प्रयोग गरेका छन् ।करिब ६ सय घर परिवारको बसोबास रहेको बाख्लो बस्ती भएको गाउँ हो मुना । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल तथा मालिका गाउँपालिका केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रापछि पुग्न सकिने मुना ५ वर्षअघिसम्म अत्यन्त दुर्गम मानिथ्यो ।

अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ । तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरी गाउँपालिका वडा नं ३ मुनाका पूर्व अध्यक्ष पुर्म पुन बताउनुहुन्छ । यहाँ उन्नत तरिकको खेती पाती, व्यवसायिक पशुपालन र आय आर्जन मूलक कार्यक्रममार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु यहाँ रहेका छन् । तर यि सबै कुराहरु केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीय बासीन्दाहरू खाली जग्गालाई घुम्ती गोठको रुपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन् ।

यहाँका बासीन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरू रहेकाे छन् । तर ति अवसरहरू त्यतिकै खेर गइरहेका छन् ।