
सिन्धुली । सिन्धुलीको महाभारत उत्तर क्षेत्रका किसानहरु भटमास थन्क्याउने कार्यमा जुटेका छन् ।
वर्षायामा खेतबारीमा लगाएकाे भटमास पाकेपछि किसानहरु यतिखेर घर आँगन र अन्न झार्ने खलामा लाठाले भटमास ठटाउने कार्यमा व्यस्त भएका हुन् । सिन्धुलीमा काली, कालाे मसिनो, कैली, सेतो लगायतका आधा दर्जन प्रजातीका भटमास खेती गरिंदै आएको छ । सिन्धुलीको महाभारत पहाड श्रृंखलामा सेतो र कैलो जातको ठूलो आकारको भटमास फलाउने गरिन्छ भने गढतिर र खोंच क्षेत्रमा सेतो र कालाे मसिनो जातको भटमास फलाउने गरिन्छ ।
भटमास प्रोटिनयुक्त खाद्य वस्तु भएकाले पछिल्लो समयमा होटल तथा रेष्टुरामा समेत भटमासका परिकारहरुको माग बढेकाे छ । जसका कारण भटमासको खपत बजारमा अत्यधिक रुपमा बढेर गएको छ । सिन्धुलीमाडी लगाएतका आसपासका क्षेत्रमा कैलो भटमास प्रतिकिलो १ सय ५० सम्ममा बिक्री वितरण हुँदै आएको छ । साथै कालाे र सेतो भटमास प्रतिकिलो १ सय ३० रूपैयाँसम्ममा बिक्री वितरण हुँदै आएको छ ।
सिन्धुलीमा प्रत्येक वर्ष कैलो सेतो, कालाे र काली मसिनो गरी २७ हजार मेट्रिक टन भटमास उत्पादन हुने एक तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्