२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


नातावादको जालोले गाँजिएको नेपाली राजनीति


4.381k
Shares

काठमाडौं । राजनीतिक क्षमता र योगदानभन्दा आफन्त तथा नातागोतालाई राजनीतिमा अगाडि बढाउनु नेपाली राजनीतिक संस्कारका लागि नौलो हैन । यसपालीको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पहुँचका भरमा टिकट हत्याएका थुप्रै पराजित भएका छन् भने केही अनपेक्षित पात्र उत्रिएका छन् ।

टीकापुर घटनामा दोषी ठहर पूर्वसांसद रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ र बुवा लालबीर चौधरीको संसदमा भेट हुने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार ससुरा, बुहारीले कैलाली र बर्दियाबाट अभूतपूर्व मत ल्याएर चुनाव जित्नुभएको छ । चौधरी परिवारकै गंगाराम र किरण चौधरीलाई सांसद उपाधिको सुयोग जुरेको छ ।

चितवन ३ बाट चुनाव लड्ने निधो गरी रातारात गोर्खा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आफू जिते पनि बुहारी बिनाका लागि संसद यात्रामा पूर्णविराम लागेको छ । तर कान्छो ज्वाईं जीवन आचार्यलाई मतदाताले उतारिदिएका छन् । मोरङ क्षेत्र नं.–६ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित आचार्य छोरी गंगाका पति हुनुहुन्छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई सांसद बनाउन माओवादी केन्द्रसँग गरिएको सौदाबाजी अन्ततः असफल भएको छ । काठमाडौं ७ का मतदाताले विरासतको राजनीति अस्वीकृत गरिदिएका छन् । दिवंगत एमाले नेता रविन्द्र अधिकारीकी अर्धाङगिनी विद्या भट्टराईलाई पोखरा क्षेत्र नम्बर २ का मतदाताले दोस्रोपल्ट सस्नेह संसद पु¥याएका छन् । यद्यपि विद्यार्थी जीवनमा विद्या सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।

नातावाद, कृपावादको सिलसिला यतिमै रोकिदैन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं पटक जित्नु भएको छ भने उहाँकी पत्नी आरजु राणा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार हुनुहुन्छ । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपनि पत्नी मञ्जु खाँणको सांसद पद सुरक्षित छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट प्रतिनिधिसभामा चुनिनुभयो । पौडेल पत्नी बलावती शर्मा पौडेल समानुपातिक उम्मेदवारीको अग्रपंक्तिमै हुनुहुन्छ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत र जनार्दन शर्माका बहिनीहरू क्रमशः ज्ञानु बस्नेत र नारायणी शर्माको नाम प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा सुरक्षित छ । त्यसैगरी जनता समाजवादी पार्टीका नेता अशोककुमार राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा पत्नी सुशीला श्रेष्ठ समानुपातिक उम्मेदवार हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा पत्नी ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित हुनुभएको छ । एमाले उम्मेदवार रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा हार्नुभएको छ । धनुषा–३ बाट प्रत्यासी उहाँकी पत्नी जुलीकुमारी महतो भने विजयी हुनुभएको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरको नाम समानुपातिक सूचीमा छ । वयोवृद्ध नेता ठाकुरलाई महोत्तरी ३ बाट त्यहाँका मतदाताले जिताइदिएका छन् ।

प्रत्यक्ष चुनावमा पराजित एमाले महासचिव शंकर पोखरेलकी बहिनी मेनका कुमारी पोखरेलको नाम समानुपातिक कोटाको सूचीमा रहेको छ । एकाघरका तीन दाजुभाइ मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको विरासतमा हुर्किएका पछिल्लो पुस्ताका तीन कोइराला शेखर, सशांक र सुजातामध्ये शेखर र सशांकलाई मात्र संसदको ढोका खुलेको छ ।

विश्वासभन्दा रगतको सम्बन्धको सम्मोहनले आलोचित समकालीन राजनीतिले यसपल्टको चुनावमा पनि मुक्ति पाउन सकेन ।