१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


नेप्से पुनः दोहोरो अंकले ओरालो लाग्दा कारोबार पनि खुम्चियो


260
Shares

काठमाडौं । आइतबार ३२ अंकले सुधारिएको शेयर बजार सोमबार पुनः दोहोरो अंकले ओरालो लाग्यो ।

मौद्रिक नीति समीक्षाले पनि लगानीकर्तामा खासै उत्साह जगाउन सकेन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेड दर घटाए पनि लगानीकर्ता खासै उत्साहित हुन नसकेका हुन् । उतार चढावबीच बजार परिसूचक १६ अंकले झरेर १९ सय ५० मा आएर थामियो ।

आइतबार २ अर्ब नाघेको कारोबार पनि सोमबार डेढ अर्बमा खुम्चियो । सामूहिक लगानी कोष र व्यापार समूह नगन्य अंकले मात्र हरियो रहेबाहेक अरु समूह ओरालो लागे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ७४ अंकले ओरालो लाग्दा अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको ३७ लाख ६१ हजार कित्ता शेयर १ अर्ब ४९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय ५१ कम्पनीको मूल्य घट्दा जम्मा ३६ कम्पनीको मूल्य बढेको पनि नेप्सेले जनाएको छ । यस दिन सिनर्जी हाइड्रो र ओरियन्टल होटल्सका लगानीकर्ताले सबैभन्दा उच्चदरले गुमाए । घटेको बजारमा खप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।