१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुकुम्वासीको नाममा राजनीति


702
Shares

काठमाडौं । जब जब मुलुकमा निर्वाचन आउँछ अनी सुकुम्बासीहरुको व्यवस्थापनको मुद्दा उठ्छ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा यो नियति फेरि दोहोरिएको छ । निर्वाचनअघि नै सार्वजनिक सूचना जारी गरेको काठमाडौं महानगरपालिकाले अतिक्रमित बस्ती हटाउन खोज्दा घरेलु हतियारहित आक्रमण भएको छ । आक्रमणबाट कमहानगर प्रहरीका विभिन्न व्यक्ति घाइते भए ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरसँगको समन्वयमा कात्तिक २५ गते खोला किनारमा भएको अतिक्रमण खाली गर्न सूचना जारी गरेको थियो । महानगरेको सूचनाको भाका नाघेसँगै थापाथलीस्थित बागमती नदी किनारका सोमबार बस्ती हटाउन पुगेका महानगर प्रहरीको टोलीमाथि आक्रमण भयो । प्रहरी टोलीमाथि सुकुम्बासी बस्तीका बासिन्दाले बर्साएको लाठी र घरेलु हतियार प्रदर्शन भएको देख्दा देशमा कानून नै छैन जस्तो देखिन्छ ।

बिना हतियार पुगेको महानगर प्रहरीको टोलीमाथि सुकुम्वासी बस्तेका सर्वसाधारणले आक्रमण गर्दा सो क्षेत्रमा उपस्थित भएको नेपाल प्रहरीको टोली भने मौन रहयो । तर प्रहरी भने आक्रमणकारी राज्यकै निकायमाथि भएको आक्रमणको मुखदर्शक बनेपनि त्यो मान्न तयार छैन । नेपाल प्रहरी सधै महानगरको साथमा भएको नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की बताउनुहुन्छ ।

हातहातमा विभिन्न घरेलु हतियार लिएर नगर प्रहरीमाथि बर्सेका उनीहरुको ज्यादती यतिसम्म थियो कि महानगर प्रहरीका महिला प्रहरीलाई पुरुषहरुले बन्धक बनाई सांघातिक आक्रमण गर्न भ्याए । महानगर प्रहरीको टोली थापाथलीको सुकुम्बासी बस्तीमा पुगेर छलफल गर्ने क्रममा उनीहरुले आक्रमण गरेका थिए । व्यवस्थित तरिकाले हटाउन खोज्न जादा आक्रमण भएको काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख राजुराज पाण्डेले बताउनुभयो ।

आफ्नो बस्तीमा कुनै पनि हालतमा डोजर प्रवेश गर्न नदिने अडान लिएका उनीहरुले मंगलबार महानगरका मेयर बालेन शाविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले मेयर शाहप्रति विरोध पनि जनाएका छन् । महानगरको टोली पुगेसँगै उत्तेजित बनेका सुकुम्वासीले समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीमाथि पनि अभद्र व्यवहार गरेका छन् । उनीहरुले सञ्चारकर्मीमाथि आक्रमणको प्रयास पनि गरेका छन् ।

राजधानीका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासीहरुले महानगरपालिको ज्यादती गरेको भन्दै उनीहरुले महानगरपालिका अगाडी धर्ना दिएर नारा जुुलुस समेत गरेका छन् । यता, महानगरीय प्रहरीमाथि हमला गर्ने व्यक्तिविरुद्ध महानगरले किटानी जाहेरी दिएको छ ।

विभिन्न दलका नेताहरुले काठमाडौं मात्र नभइ देशभरका सुकुम्वासीले विभिन्न बहानामा भूमि उपलब्ध गराउने भन्दै भोट बैंकको रुपमा मात्र प्रयोग गरेका छन् । हरेक निर्वाचनको सम्मुखमा मात्र सुकुम्बासीका मुद्दा उठ्ने गरे पनि त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन् । सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडपेर विभिन्न संरचना बनाउने होड चले पनि राज्यले उचित व्यवस्थापन गर्न सकेको छैन् । सुकुम्वासी समस्या समाधानको विषय चुनावी मुद्दामा सीमित भएसम्म यो समस्या समाधान हुने छैन् ।