२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, निर्वाचन जस्तो भएन : अध्यक्ष ओली


1.911k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्वासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराउनुभयो ।

ललितपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्न समेत गर्नुभयो । ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जस्तो नभएको जिकीर समेत गर्नुभयो । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उहाँको आरोप थियो ।

बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताउनुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिनु भयो ।

ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहोर्‍याउनुभयो ।