
सोलुखुम्बु । गर्मी सिजनमा हिमाली भेगमा गएका सोलुखुम्बुका भेडागोठ विस्तारै जाडो बढेसँगै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् ।
सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ, राई जातिहरुले पुस्तौं अघिदेखि अङ्गाल्दै आएको भेडापालन अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नमिल्ने भएकाले सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनु पर्ने भेडापालक बताउँछन् ।
भेडा पालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन हुने भएकाले पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशानै संकटमा पर्दै जान थालेको सोलुखुम्बुको सल्यान–५ का भेडापालक प्रवेश राईले बताउनुभयो ।
हिमालमा चिसो शुरु भएकाले मध्य पहाडी भेगका जङ्गलहरुमा अधिकाँश भेडागोठहरु झर्दै गरेको देखिन्छन् । सामुदायिक वन उपभोक्ता समूहहरुले भेडाको चरणक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुने गरेको भेडापालकको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्