
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र जटिल अवस्थामा पुगेको भन्दै अब पनि सचेत नभए दुर्घटनामा पर्ने चेतावनी दिएको छ ।
महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याजदर नघट्ने हो भने अर्थतन्त्रै जोगाउन मुश्किल हुने जनाएको हो । निजी क्षेत्र संकुचित हुदै गएको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न नसकेको उसको निष्कर्ष छ । यो अवस्थामा मुलुक आइपुग्नुमा मुलतः अन्तराष्ट्रियस्तरमा इन्धन लगायत कच्चा पदार्थमा भएको मुल्यवृद्धि र नियामकीय अपरिपक्वता मुख्य कारक उसको ठहर छ । समयमा नियामकीय सुधार हुन नसक्दा समस्या जटिल बन्दै गएको महासंघको आरोप छ ।
महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेका महासंघले जनाएको छ । दैनिक उपभोग्य सामानहरुको बिक्रि १८ प्रतिशत घटेको, विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको र अटोमोबाइलको कारोबार करिब ७५ प्रतिशतले घटेको पाइएको महासंघले जनाएको छ ।
चालु पूँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्नुपर्ने लगायतका माग महासंघले अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्