१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पूर्वी नवलपरासीमा ३० हजार मत बदर


195
Shares

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार ६ सय ७० मत खसेकामा ४ हजार १०३ मत बदर भएका छन् ।

प्रदेशसभा तर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार चार सय एकमध्ये १ हजार ७४४ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार सात सय ७७ मत बदर भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४५ हजार १२९ मत खसेको थियो ।

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा ३ हजार ४६२ मत बदर भएका छन् । देशसभातर्फ क्षेत्र नं २ (१) मा कूल खसेको मत ४२ हजार ५९० मध्ये एक हजार ३३६ मत बदर हुँदा प्रदेश सभाको क्षेत्र नं १ (२) मा एक हजार २१४ मत बदर भएका हुन् ।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२ हजार चार सय ९६ मत खसेको थियो । समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नं १ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने क्षेत्र नं १ (२) मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएका भुसालले बताउनुभयो । प्रदेशसभाको क्षेत्र नं २ (१) मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र क्षेत्र नं २ (२) मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिनुभएको छ ।

धेरैजसो बदर भएका मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको प्रमुख भुसालले बताए । उहाँले भन्नुभयो, ‘केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।’

यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका थिए ।