२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


४० वर्ष मुनिका ८ जना प्रत्यक्ष निर्वाचित, सबैभन्दा कम उमेरकी सोविता


3.224k
Shares

काठमाडौं । राजनीतिमा पुस्तान्तरणको सशक्त आवाज उठे पनि प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहको नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० वर्ष कम उमेर समूहका निर्वाचित सदस्यहरू ८ जना मात्र रहेका छन् । ३० भन्दाकम उमेर समूहका २ जना छन् । चुनाव जित्नेमा सर्वाधिक ५० देखि ६० वर्षका ५९ जना छन् ।

अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य हुनुहुन्छ । ५० तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ । बुधबार साँझसम्म सार्वजनिक १६१ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २, ३० देखि ४० उमेर समूहका ६ र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन् । यस्तै, ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन् । ७० माथिका १२ र ८० वर्षमाथिका दुई निर्वाचित सदस्य छन् ।

नेकपा (एमाले)मा ४० वर्ष कम उमेरका निर्वाचित हुनेको संख्या शून्य छ । यस्तै, ४० देखि ५० वर्ष उमेर समूहका ८ जना निर्वाचित भएका छन् । ५० वर्षदेखि ६० वर्ष समूहका २० जना छन् । यस्तै, ६० देखि ७० वर्ष समूहका १२ जना छन् । ७० वर्षभन्दा माथि उमेर समूहका अध्यक्ष केपी शर्मा ओली र मङ्गलप्रसाद गुप्ता हुनुहुन्छ ।

नेपाली कांग्रेसमा ३० भन्दा मुनि निर्वाचित हुनेमा मुस्ताङबाट योगेश गौचन थकाली हुनुहुन्छ । यस्तै, कांग्रेसमा ३० देखि ४० वर्ष उमेर समूहबाट कुनै सदस्य प्रत्यक्षमा निर्वाचित छैनन् । यस्तै, ४० देखि ५० उमेर समूहका ७ जना निर्वाचित भएका छन् । ५० देखि ६० वर्ष उमेर समूहका १८ सदस्य छन् । ६० देखि ७० उमेर समूहका २३ जना कांग्रेसबाट निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित ४ जना ७० वर्षमाथि उमेर समूहका हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)मा पनि ३० वर्षभन्दा कम उमेर समूहका सदस्य निर्वाचित भएका छैनन् । यस्तै, ४० देखि ५० उमेर समूहका ४ जना निर्वाचित छन् । ५० देखि ६० उमेर समूहका १० जना निर्वाचित भएका छन् । ६० देखि ७० उमेर समूहमा अध्यक्ष पुष्पकमल दाहाल मात्र हुनुहुन्छ । ७० माथिको समूहबाट महिन्द्रराय यादव निर्वाचित हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)मा ४० देखि ५० वर्ष उमेर समूहका २ जना निर्वाचित भएका छन् । यस्तै, ५० देखि ६० उमेर समूहका ३ जनालाई जनमतले पत्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३० वर्ष कम उमेर समूहबाट १ जना निर्वाचित हुनुभएको छ । काठमाडौं २ मा सोविता गौतम उक्त दलबाट निर्वाचित हुनुभएको हो । यस्तै, उक्त दलबाट ३० देखि ४० उमेर समूहबाट डा. तोसिमा कार्की र हरि ढकाल निर्वाचित हुनुभएको छ । ४० देखि ५० उमेरबाट ४ जना निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षीय ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित हुनुभएको छ । यस्तै, ५७ वर्षीय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट निर्वाचित हुनुभएको छ । राप्रपाबाट ६० देखि ७० वर्ष उमेर समूहका ३ जना निर्वाचित हुनुभएको छ । ७० वर्षमाथिका २ जना निर्वाचित हुनुभएको छ ।

जनता समाजवादी पार्टीबाट ४० देखि ५० वर्ष उमेर समूहमा २ जना निर्वाचित हुनुभएको छ । यस्तै, ५० देखि ६० उमेर समूहका ३ जना निर्वाचित हुनुभएको छ । ७० माथि उमेरका १ जना निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचितमध्ये ५० देखि ६० उमेर समूहमा १ जना, ६० देखि ७० उमेरमा १ जना र ७० भन्दा माथि २ जना निर्वाचित हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचितमध्ये २ जना ३० देखि ४० वर्ष उमेर बीचका हुनुहुन्छ । १ जना ४० देखि ५० वर्ष उमेर समूहभित्र निर्वाचित हुनुभएको छ । जनमत पार्टीको प्रत्यक्षबाट निर्वाचित पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउत ४५ वर्षको हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित चित्रबहादुर केसी ८३ महन्थ ठाकुर ८१ वर्षको हुनुहुन्छ ।

संसद सचिवालयका रहेको व्यक्तिगत विवरणअनुसार अहिलेसम्म सर्वाधिक ज्येष्ठ जनप्रतिनिधिमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहनुभएको छ । नेपाल मजदुर किसान पार्टीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सदस्य प्रेम सुवाल ६२ र स्वतन्त्रबाट निर्वाचित ५ जना पनि ५० वर्षमाथि उमेरको हुनुहुन्छ ।