
बैतडी । बैतडीमा दुई युवतीको घाँटीमा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार पनि घाँटीमा धारिलो हतियारबाट गम्भीर घाइते अवस्थामा भेट्टिएकी छन् । नेहा घाँटीमा धारिलो हतियारबाट रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला परेकी हुन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनि पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमै रहेको छ ।
हत्यामा संलग्न रहेको भन्दै शिवनाथकै सशस्त्र प्रहरीका एक जवानमाथि प्रहरीले अनुसन्धान थालेको छ । संलग्न भनिएका जवान फरार रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी समेत रहेको बताइएको छ । मृतक माया र फरार जवान प्रेम सम्बन्धमा रहेको र कुरा नमिलेपछि हत्याको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्