
काठमाडौं । वस्तु आयात–निर्यात खस्किरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनासम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
सो अवधिमा निर्यात ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपियाँको निर्यात भएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनामा कृषिजन्य वस्तुको आयात ३३ दशमलव २४ प्रतिशतले घटेर ९७ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँको आयात भएको थियो ।
यो चार महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रुपैयाँको भटमास आयात भएको थियो । यस्तै, पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रुपैयाँको आयात भएको थियो । यस्तै, ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रुपैयाँ आयात भएको छ ।
उक्त चार महिनाको अवधिमा चामल आयात ३७ दशमलव ५९ प्रतिशतले घटेर पाँच अर्ब ९३ करोड रुपैयाँको आयात भएको केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा नौ अर्ब ५० करोड रुपैयाँको चामल आयात भएको थियो । मकै ३१ दशमलव ६३ प्रतिशत घटेर चार अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा छ अर्ब ९२ करोड रुपैयाँको आयात भएको थियो । धान आयात ७७ दशमलव ६४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँ बराबरको भएको छ । अघिल्लो तीन अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो । गहुँ आयात ९६ दशमलव ९१ प्रतिशतले घटेर ६ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब आठ करोड रुपैयाँको आयात भएको थियो ।
यस्तै, दलहन बालीको आयात ४८ दशमलव ६८ प्रतिशतले घटेर चार अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ६१ करोड रुपैयाँको आयात भएको थियो । चार महिनामा लसुनको आयात १० दशमलव ३८ प्रतिशतले घटेर ३७ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ४१ करोड रुपैयाँको आयात भएको थियो । चिनी आयात ७२ दशमलव ४० प्रतिशतले घटेर ८८ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो ।
यस्तै आलुको आयात १० दशमलव ३० प्रतिशतले घटेर चार अर्बमा खुम्चिएको छ । अघिल्लो वर्ष सो अवधिमा चार अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो । यस अवधिमा २ अर्ब १९ करोड रुपैयाँको प्याज आयात भएको छ भने अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी स्याउको आयात २ दशमलव ८६ प्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँको आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्