४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्छ’


13
Shares

काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामाग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानको १३औं प्राज्ञ सभामा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनु भयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताउनुभयो ।

कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने उहाँले माग राख्नुभयो । त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताउनुभयो । उहाँले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।