
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्तामा कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको पनि बताउनुभयो । उहाँले नेपालको प्राचिन वस्तु तथा मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाटकहरु विदेशमा पनि प्रसिद्ध र लोकप्रिय बनिरहेको बताउनुभयो । उहाँले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पती एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतिक भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका संग्रहालयमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको भन्दै छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनीकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री देउवाले ललितकला प्रज्ञा प्रतिष्ठानले धेरै भन्दा धेरै कलाकारहरुलाई प्रतिष्ठानमा आवद्ध गरी कला र संस्कृतिको माध्यमबाट देशको पहिचान विदेशमा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्