
काठमाडौं । विश्वभर लैङ्गिक हिंसाविरुद्धको दिवस मनाइरहँदा महिला तथा घरेलु हिंसामा पर्ने पीडितहरुको संख्यामा कमी आउनुको साटो बढ्दै गएको राष्ट्रिय महिला आयोग र नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकअनुसार सात वटा प्रदेश र उपत्यकामा ४ हजार २ सय ५७ घरेलु र १ हजार ९८ वटा महिला हिंसा भएको देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षमा ३ हजार ५८ घरेलु र ३ हजार ५ सय ७४ महिला हिंसा भएको देखिन्छ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा हिंसामा परेका पीडितहरुले न्यायको लागि विभिन्न तरिकाले आवाज उठाउँदै आइरहेका छन् ।
महिलाको हक अधिकारमा कार्यरत राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्ष घरेलु १ हजार ३ सय १८ र महिला हिंसा १ सय ४७ रहेका छन । यो वर्षको पाँच महिनामा ३ सय १६ घरेलु र महिला हिसा ३१ गरी ३ सय ४७ वटा घटना भएकोे छ । आफ्नै पति र घर परिवारबाट पीडित महिला न्यायका लागि प्रहरी प्रशासन र न्यायालयको ढोकामा पुग्दा त्यहाँबाट न्याय पाउनु सट्टा अझ पीडित बनाउने काम भइरहेको पीडित विनु यादव बताउनुहुन्छ । न्याय पाउनको लागि सधै पीडित रुनु पर्ने कस्तो कानून भएको यादव बताउनुहुन्छ ।
महिला हक, अधिकारको वकालत गर्ने राष्ट्रिय महिला आयोग सरकार गम्भीर नभएसम्म यस्ता अभियानको औचित्य नहुने राष्ट्रिय महिला आयोगकी आयुक्त कृष्णकुमारी खतिवडा बताउनुहुन्छ । उहाँले सरकार आफै महिला हक अधिकार खोस्दै दमनतर्फ उन्मुख भएको आरोप आयुक्त खतिवडाको छ ।
महिला तथा घरेलु हिंसा हुनुमा अशिक्षा प्रमुख कारण रहेको र यसको अन्त्यका हरेक क्षेत्रमा शिक्षाको पहुँच आवश्यक रहेको नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की बताउनुहुन्छ । शिक्षा भयो भने पीडितले कानूनका बाटा खोज्न सक्छ र कानूनी उपचार खोज्न सक्ने सक्षम हुने सहप्रवक्ता कार्की बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्