१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्याग्दीमा जस्तापाता बोकेर मतदाता भेट्न पुगे जनप्रतिनिधि


156
Shares

म्याग्दी । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ।

चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोज भतेर गर्ने र तडक-भडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुशी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाउनु भएकाे छ । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेर प्रदेश सभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र) का म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयउत्सव मनाउन थाल्नु भएकाे हाे ।

भोजभतेरको खर्च कटाएर विपन्न मतदातालाई सहयोग पुग्ने किसिमको काम गरेर विजयउत्सव मनाउन लागेको जुग्जालीले बताउनुभयाे । मंगला गाउँपालिका–१ कुहुँको भीरकटेराका फाले र रतिकला फगामीको जीर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाता बोकेर बिहिबार त्यहाँ पुग्नुभएकाे छ । ७६ वर्षका फाले बोल्न नसक्ने अपाङ्ग छन् । उनकी ७७ वर्षीय श्रीमती रतिकला पनि लडेर हिड्डुल गर्न सक्ने अवस्थामा छैनन् । उनीहरुको ढुंगा, माटो र काठले बनेको दुई तले घर जीर्ण बनेर भत्कने अवस्थामा छ । खरले छाएको पीढिको छानो चुहिने भएपछि बाहिर प्लास्टिक राखेका छन् र फगामी दम्पतीलाई छोरी तिलकुमारी पुनले स्याहार सुसार गर्दै आएकी छन् ।

तिलकुमारी उनीहरुकी एकमात्र सन्तान हुन् । आफ्नै जग्गा जमिन नभएका उनीहरुको आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता मात्रै हो । आर्थिक अभावका कारण घर मर्मत गर्न सकेका थिएनन् । जीर्ण घरमा जोखिम मोलेर बस्दै आएका छन् । जीर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई ३६ थान ८ फुटको जस्तापाता उपलब्ध गराउनुभएकाे छ । भोज, भतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयउत्सव मनाउनुपर्छ भन्ने सुझाव र मेरो बिचार अनुसार दु:ख पाएका नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको जुग्जालीले बताउनुभयाे । साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चिएको र मंगला, मालिका र धाैलागिरी गाउँपालिकामा एक-एक वटा कार्यक्रम गर्ने जुग्जालीले जानकारी दिनुभएकाे छ ।

नेपाली कांग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रवीन), नेकपा माओवादी केन्द्रका पृथीलाल बिक, नवीन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पत्तीको समस्याका बारेमा जानकारी गराएका थिए । फगामीका छोरी तिलकुमारीले जीर्ण घर मर्मतका लागि सांसदनै जस्तापाता बोकेर घर आएकोमा अचम्म लागेको बताएकी छन्। ‘सांसदले चुनाव जितेपछि गाउँमा मुख देखाउदैनन् भन्ने सुनेको थिए’, तिलकुमारीले भनिन् ‘उहाँ (रेशम जुग्जाली) त सांसद भएर पनि आफैं जस्तापाता बोकेर हाम्रै घरमा आएको देख्दा अचम्म लाग्यो ।’

कांग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरूले श्रमदान गरेर जस्तापाता फेरिदिने कांग्रेसका नेता पुनले बताउनुभयाे। फाले फगामी र रिमतिले जीर्ण घर मर्मत हुन लागेकोमा खुशी व्यक्त गर्नुभयाे । उनीहरूले नवनिर्वाचित सांसद जुग्जालीलाई आशिर्वाद समेत दिएका थिए ।