१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाका अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा फेल


221
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा ‘फेल’ भएका छन् ।

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारीको प्रदूषण परीक्षण गर्दा परीक्षण गरेका अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा ‘फेल’ भएको पाइएको हो ।

शुक्रबार विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ वटा सवारी साधन फेल भएको पाइएको छ । १६ वटा सवारी साधन मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्रदूषण परीक्षणमा फेल हुने हरुलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिएको बताउनुभयो ।

उहाँले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्र फिर्ता लैजान पाउने बताउनुभयो ।
उहाँले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको जरिबाना गर्ने चेतावनी दिनुभयो ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि जाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । साना तथा मझौला साधनले एक वर्षमा एकपटक त्यस्तो जाँच गराउनुपर्छ ।

जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ ।