
काठमाडौं । सवारी साधन आयात प्रतिबन्धको विरोधमा अटोमोबाइल व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् ।
अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलनको घोषणा गरेको हो । नाडाले शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
विगत ८ महिनादेखि नीजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने, नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्नेलगायतका माग उनीहरुले अघि सारेका छन् ।
सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने, अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्था अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने उनीहरुको माग छ ।
यस्तै, सीडी रेसियो पुनरावलोकन गर्नुपर्ने, बैंकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्नेलगायत व्यवसायीहरुको मागपत्रमा समेटिएको छ ।
व्यवसायीहरुले पहिलो चरण अन्तर्गत् सामाजिक सञ्जालबाट विरोधदेखि धर्नासम्मका कार्यक्रम अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्