
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ–३ छेस्कामका विर्खबहादुर कुलुङ र चन्द्रदेवी कुलुङ दम्पत्तीले स्वर्गीय बुवाआमाको स्मृतिमा स्वास्थ्य कोष स्थापना गरेका छन् ।
हाल बेलायत रहेका कुलुङ दम्पत्तीले स्वर्गीय बुबा नरवीर कुलुङ र स्वर्गीय आमा लाखसञ्च कुलुङको स्मृतिमा दुई लाख रुपैयाँको स्वास्थ्य कोष स्थापना गरेका हुन् ।
आर्थिक अभावका कारण ऋण काढेर उपचार गर्न बाध्य स्थानीयको उपचारमा सहयोग पुर्याउने उद्देश्यकासाथ ‘नरवीर–लाखसञ्च स्वास्थ्य कोष’ स्थापना गरिएको कुलुङ दम्पत्तीले बताएका छन् ।
कुलुङ दम्पत्तीले कानूनी प्रक्रिया पुरा गरेर स्वास्थ्य कोष स्थापना गरी सञ्चालक समिति अध्यक्ष घनश्याम कुलुङलाई रकम हस्तान्तरण गर्दै कोष सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य कोषबाट सोलुखुम्बु, भोजपुर र संखुवासभाजस्ता विकट जिल्लाबाट उपचार गर्न काठमाडौं पुगेका विपन्न र असहायलाई सहयोग गरिने सञ्चालक समितिका सदस्य सचिव विवश कुलुङले बताएका छन् ।
कोष स्थापनाकै दिन संखुवासभाको सिलिचोङबाट ह्याम्स अस्पताल पुगेर उपचार गराइरहेकी कौशिला कुलुङलाई चार हजार रुपैयाँ सहयोग समेत गरिएको छ । विरामीको अवस्था र आर्थिक अवस्था हेरेर वर्षमा कम्तीमा चार जना बिरामीलाई सहयोग गर्न सकिने कार्यविधि बनाइएको छ ।
सो कोषमा रकम थप गर्दै लैजाने कुलुङ दम्पतीले प्रतिबद्धता जनाएका छन् । कोषका संस्थापक विर्खबहादुर कुलुङले कोषको रकम सही तरिकाले सदुपयोग हुने उपचार गर्न समस्या भएका बिरामीको सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।
कोष सञ्चालक समितिका अध्यक्ष कुलुङले आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्यामा परेका विपन्नलाई राहत मिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्