
काठमाडौं । आम निर्वाचन २०७९ को मतगणना लगभग अन्तिम चरणमा पुगिसकेको अवस्थामा राजनीतिक दलहरु सरकार गठनको जोड घटाउमा लागेका छन् ।
यद्यपि समानुपातिकको परिणाम सबै आउन केही दिन पर्खिनु पर्ने अवस्था छ । त्यसपछि राजनीतिक दलहरु सरकार गठनबारे झन् तीब्र गतिमा लाग्नेछन् । आम निर्वाचनले कुन दलको अवस्था कस्तो छ प्रत्यक्षमा कति सिट जिते भन्ने कुरा देखाइसकेको छ । त्यसको ब्याख्या विश्लेषण गर्नु पर्ने खासै छैन । तर अब मत परिणामसँगै सरकार गठनको कुरामा दलहरुको ध्यान केन्द्रीत छ । यो निर्वाचनमा पनि तेस्रो शक्तिका रुपमा स्थापित भएको माओवादीले सरकार गठनबारे नेकपा एमालेसँग पनि छलफल गर्ने लगायतका विकल्प खुला गरेको छ ।
माओवादीसहितको सत्ता गठबन्धनको नेतृत्व गरिहरहनुभएका नेपाली काँग्रेसका सभापति एवं वर्तमान प्रधमनमन्त्री शेरबहादुर देउवा माओवादीको यो निर्णयले शसंकित बन्नु भएको छ । यो गठबन्धन १५ वर्षसम्म निरन्तर जान्छ भनेर भाषण गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिलेनै अस्थिर बन्न थालिसक्नु भएको छ । आफ्नो भागमा प्रधानमन्त्री परिहाल्छकि भनेर । सत्ताका लागि जता पनि लाग्ने दाहालको प्रबृत्तिले फेरि राजनीतिक अस्थिरतातर्फ संकेत गरेको कतिपयको भनाई छ । भोली पद पाउने आशमा दाहाल जतापनि ढल्किन सक्ने भएकाले यस्तो अस्थिरता तर्फ देशलाई धकेल्नु भन्दा आगामी पाँच वर्ष काँग्रेस र एमाले मिल्दा त्यसले राजनीतिक स्थिरता हुने धेरैको विश्वास छ । काँग्रेस र एमालेले देशको राजनीति राम्रोसँग बुझेका छन् भने यी दुबै दल देशको परिवर्तनका लागि पुराना सहयात्री पनि हुन् । काँग्रेस एमाले मिल्दा देशले सहज रुपमा निकास पनि पाउन सक्छ ।
नयाँ सरकार गठनको हल्लासँगै राष्ट्रपति,उपराष्ट्रपति कसलाई बनाउने भन्ने विषयको चासो पनि सबैतिर छ । कतिपय मुलुकमा देशका नाम कमाएका स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने चलन पनि छ हाम्रोमा पनि सिस्टम बसाउने हो भने पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, कल्याण श्रेष्ठ लगायतका व्यक्तिलाई राष्ट्रपति बनाएर अघि बढ्न सकिन्छ । जसले गर्दा अहिले राजनीतिप्रतिको वितृष्णा कम हुन सक्छ । यदि राजनीतिक दलहरुभित्रैबाट राष्ट्रपति उपराष्ट्रपति बनाउने हो भने काँग्रेस र एमाले मिलेर अघि बढ्दा रामचन्द्र पौडेललाई राष्ट्रपति, उपराष्ट्रपतिका लागि शिवमाया तुम्वाहाम्फे पनि त छन् नि । यदि त्यसो होइन भने सुवास नेम्वाङ राष्ट्रपति,पुष्पा भुषाल उपराष्ट्रपति पनि बन्न सक्छन नि । त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार भएमा देशलाई निकास दिन सहज हुने काँग्रेस र एमालेकै नेताहरु बताउँछन् । क्षणिक आवेश र असन्तुष्टि पोखिएर केही नयाँ राजनीतिक दल भनौ या पार्टी उदयको संकेत देखिएपनि न विगतको कुनै अनुभव छ नत वर्तमान नै स्पष्ट एजेण्डा सहित आएका छन् त्यस्ता अपरिक्षित पार्टीहरुबमट मुलुकले निकास पाउने संभावना छैन ।
सभामुखको लागि पनि आपसमा सहमती गर्न सकिन्छ, जस्तो काँग्रेसबाट अर्जुन नरसिंह केसी, एमालेबाट पृथ्वी सुब्वा गुरुङ लगायतका व्यक्तिमा सहमति खोज्न काँग्रेस एमालेलाई खासै गार्हो नहोला । काँग्रेसभित्र देउवा र एमालेभित्र ओली पार्टीको मुख्य भूमिकामा रहेकाले दुबैले देशको परिस्थिति बुझेर सरकार गठन लगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्