
काठमाडौं । नेपालमा विद्युतीय सावारी साधनमा ग्राहकको चासो र आकर्षण बढ्न थालेको छ ।
गत शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधारणहरुको आकर्षण देखिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी अवलोकन कर्ताहरु आएको आयोजकले बताएका छन् । एक्स्पोका आयोजक नारायण क्षेत्रीले एक्स्पोमा आफुहरुले अपेक्षा गरेको भन्दा दोब्बर बढी अवलोकनकर्ता आएको बताउनुभयो । उहाँले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरु आउन चाहेको बताउनुभयो । क्षेत्रीले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको उचित व्यवस्थापन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले विद्युतीय सवारीकालागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै, विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले नेपालमा अब विद्युतीय सवारी बाहेक अरुको सम्भावना कम रहेको पाइएको पनि बताउनुभयो । उहाँले विद्युतीय सवारीप्रति मानिसहरुको आकर्षण बढ्नु सकारात्मक रहेको बताउनुभयो । त्यस्तै, इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले एक्स्पोमा भएको उपस्थितीले नेपालीहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने बताउनुभयो । एक्स्पो अवलोकन गर्न आउनेहरुले भने विद्युतीय सवारी साधन बढी महँगो भएको गुनासो गरेका छन् । सामान्य नेपालीले चढ्नसक्ने गरी राज्यले भन्सार कम गरेर वा मूल्य तोक्न आवश्यक देखिएको उहाँले बताउनुभयो ।
एक्स्पोमा विशेषगरी विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल, बसदेखि विद्युतीय ट्रयाक्टर, कार्गो लोडर, रिक्सा र ब्याट्री समेत राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्