
काठमाडौं । नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानूनी व्यवस्था नै नभएको पाइएको छ ।
नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले यस्तो खुलासा गर्नु भएको हो । उहाँले भूसंरक्षण सम्बन्धि ऐन भएपनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको स्पष्ट पार्नुभयो ।
महानिर्देशक पौडेलले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणा समेत गर्नुभयो । नेपालमा माटोको गुणस्तर बिग्रदै गएकोमा चिन्ता भईरहेको उल्लेख गर्दै उहाँले त्यसको संरक्षण गर्नका लागि कार्यविधि ल्याउने र जनचेतनामूलक कार्यक्रमलाई जोड दिएर अघि बढन सरकार लागि परेको समेत बताउनुभयो ।
विभागले यस वर्ष विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई माटोको गुणस्तरसम्बन्धि निबन्ध प्रतियोगिता गराएर यस सम्बन्धि जनचेतना जगाउने काममा जोड दिइएको पनि कृषि विभागले जनाएको छ ।
विभागका महानिर्देशक पौडेलले माटोको उर्बरामा ह्रास हुन नदिनका लागि जनचेतना जगाउने काम मुख्य भएकाले सरकारले त्यसलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने योजना तय गरेको बताउनुभयो । विज्ञहरुले नेपालको तराई क्षेत्रमा माटो बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाएर अघि बढन सरकारलाई सुझाव दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्