१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी


65
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ ।

यही मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना चाँडै सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी रहेकाले तीन जिल्लाको मत गणना मंगलबार बिहानसम्ममा पठाउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । उक्त परिणाम आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नामहरू पठाउन पत्र पठाउने उहाँको भनाइ छ । आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो बनेको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १८ सिट जितेर तेस्रो पार्टी बन्दा नेकपा (एकीकृत समाजवादी) ले भने १० सिट जितेर चौथो दल बनेको छ । उता, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्र जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक सिट जितेका छन् ।

देशभर ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, ९१ सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।