१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गीतकार तथा संगीतकारलाई राज्यले सम्मान गर्न सकेन : प्रदीप पौडेल


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताउनुभएको हो ।

उहाँले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताउनुभयो ।

नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताउनुभयो । गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उहाँले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, संगीत पछि परिरहेको बताउनुभयो । उहाँले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिनुभयो ।