२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का निर्वाचित प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेसँगै मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भएर अन्योलता देखिएको भन्दै सरकारले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने माग राख्नुभयो ।

नेता सिंहले मेलम्ची मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता सिंहले वर्षैभर काठमाडौंमा पानी पथान्तरणका लागि फास्ट ट्रयाकमा काम गर्न अवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत भएको बताउनुभयो ।

नेता सिंहले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना काँग्रेस नेतृत्वमै सरकारले साकार पार्नु गौरवको विषय भएको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण मेलम्चीको भविष्य अन्योलमा पर्ने काठमाडौंवासीमा चिन्ता छाएको भन्दै सरकारले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । नेता सिंहले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुुपर्ने बताउनुभयो ।

नेता सिंहले मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले केही महिनादेखि सेवा सुविधा नपाएको भनि आयोजनाका कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेकाले सरकारले तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्यमा गम्भीरताका साथ काम अघि बढाउन ध्यानाकर्षण गराउनुभयो ।