६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दुई सयभन्दा बढी देवी-देवताका कलाकृति प्रदर्शनी


741
Shares

काठमाडौं । मौलिक कला संस्कृति र सभ्यताका लागि विश्वमानचित्रमा नेपालको छुट्टै पहिचान छ । कला संस्कृतिले भरिपूर्ण नेपाल विशिष्ट पहिचान र मौलिकता बोकेको मुलुक हो । सानो प्रयाश स्वरुप यतिखेर नेपाल आर्ट काउन्सिल, बबरमहलमा नेपालका देवीदेवताहरु नामक बृहत कला प्रर्दर्शनी भइरहेको छ ।

सनातन कालदेखिका देविदेवताहरुप्रति सहिष्णुता र अन्तर सम्बन्ध जगाउन नेपालका देविदेवताहरु नामक कला प्रदर्शनी काठमाडौंमा भइरहेको छ । लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एकै स्थानमा राखि प्रस्तुत गरिएको प्रदर्शनीमा नेपालका वरिष्ठ र नयाँ कलाकारका २ सय भन्दा बढी कलाकृति समावेश गरिएको छ ।

भुइँतलाको देब्रे भागबाट सुरु गरिएको प्रदर्शनीमा ब्रमाण्डको उत्पत्तिलाई देखाइएको छ । काल, ब्रह्मा, विष्णु, महेश्वर, सूर्य चन्द्रलगायत श्रृष्टिबारे प्रदर्शन गरिएको छ । माथिल्लो तलामा गणेशका मौलिक चित्रहरु राखिएको छ । यही तलाको भित्री कक्षमा विभिन्न देवदेवी, तथागत बुद्ध तथा परम्परागत चित्रहरु राखिएको छ । कलाकार प्रदिप शाक्य यस्तो प्रदर्शनी समय समयमा हुन सके नेपाली कलाको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुहुन्छ ।

प्रदर्शनीमा ऐतिहासिक मौलिक दशावतार तास रोचक रहेको छ । माथिल्लो तलामा तराई, पहाड र काठमाडौं उपत्यकाको लोक संस्कृति झल्काउने कला राखिएको छ । अन्तिममा भुइँतलाको देब्रे पट्टिको प्रदर्शनी कक्षमा मूर्तिकला, परम्परागत कला तथा समसामयिक कला समावेश गरिएको छ । मेघसम्भराको विशाल मूर्ति लगायत धार्मिक र परम्परागत मूर्ति आकर्षक देखिन्छ ।

कला अनुरागी स्वामी बासुदेव काठमाडौंमा सबै प्रकारका देवी देवता राखेर राम्रो काम गरेको बताउनुहुन्छ । उहाँले यस्तो कला प्रदर्शनीले कलाकारलाई हौसला दिनुकासाथै प्रचारप्रसार पनि हुने बताउनुहुन्छ ।

नेपाल कला परिषदको ६० औं र नेपाल हस्तकला महासंघको ५० औं स्वर्ण वर्षका अवसरमा गरिएको यो कलाप्रदर्शनी परिषद्का पूर्व अध्यक्ष एवं शताब्दी पुरुष सत्यमोहन जोशी प्रति समर्पण गरिएको छ । यस्तो प्रदर्शनीलाई निरन्तरता दिनसके नेपालको कला क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित छ ।