
काठमाडौं । एशिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले यसबारे विस्तृत जानकारी दिनुभयो ।
पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गर्ने छन् ।
महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउण्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एशिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र वृृद्धिमा टेवा पुर्याउन पनि महत्वपूर्ण योग्दान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराउनु भयो । उहाँका अनुसार बाँकी रकम एशिया रग्बीले व्यहोर्ने छ ।
नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गर्नुभयो । यसै अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो ।
दुई दिने प्रतियोगतिाका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।
प्रतिक्रिया दिनुहोस्