१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न सकेन : मन्त्री श्रेष्ठ


286
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताउनुभएको छ ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाउनुभयो । उहाँले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताउनुभयो ।

उहाँले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताउनुभयो ।

उहाँले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलव खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद रहेको भन्दै कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतको भन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेस गर्नु हास्यास्पद भएको बताउनुभयो । उहाँले निगम आफैले प्रतिष्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैँ राज्यले लगानी गरेर निगम चलाउन नसक्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय निकायहरुले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरीरहेको बताउनुभयो । उहाँले नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाको विषयमा कसैसँग सम्झौता गर्नु नहुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले हवाई सुरक्षा नीतिको विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउनुभयो । उहाँले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षाको लागि कामका आधारमा चाँडै कालो सूचीबाट हट्ने विश्वास व्यक्त गर्नुभयो ।