
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
निधि निवास नयाँ बानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, संविधान कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
स्वीस राजदूत एलिजावेथले नेपालको सङ्घीय शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताएको नेता निधिको सचिवालयले जनाएको छ । नेता निधिले सङ्घीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।
भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतलगायत क्षेत्रमा थप लगानी भित्र्याउन लगानीमैत्री वातावरणमा जोड दिनुभयो । नेता निधिले अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिको तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको थप सहयोगका लागि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्