२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुन सक्छ : ढकाल


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउन सक्ने बताउनुभएको छ ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताउनु भयो । उहाँले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रशारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताउनुभयो ।

ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खबौंको लगानी अलपत्र पर्ने बताउनुभयो । उहाँले जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले बजारमा बैंकिङ तरलता, ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताउनुभयो । उहाँले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताउनुभयो ।

त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको बताउनुभयो । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतत्र सुदृढ बनाउनका लागि राज्यस्तरबाट भएका प्रयासहरु अपर्याप्त रहेको बताउनुभयो ।

उहाँले सरकारलाई उद्योगी व्यवसायीहरुले उद्योग क्षेत्रका समस्या समाधानको माग गरेको वर्ष दिन बितिसकेको बताउनुभयो । उहाँले व्यवसायीहरुका समस्या समाधान नभई व्यवसायमा फर्कनसक्ने अवस्था नभएको पनि बताउनुभयो ।