१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रको भूमिका निर्णायक : अध्यक्ष दाहाल


91
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गर्नुभएको छ ।

राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेकोे जिकीर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिष्टम केन्द्रिय रुपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदूपयोग गरेर अघि बढन नसक्दा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पार्नुभयो । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सुचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने उहाँले बतउनुभयो ।

अध्यक्ष दाहालले यस पटकको निर्वाचनमा जनताले एजेण्डालाई भन्दा पनि सामाजिक सञ्जालबाट प्रभावित भएर मतदान गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गर्ने टिम परिचालन नगरी चुनाव जित्न नसकिने तथ्य पनि हालै सम्पन्न निर्वाचनले बोध गराएको बताउनुभयो । त्यस अवसरमा उहाँले जनताको सेवा प्रवाहको काममा ध्यान दिन कर्मचारीहरुलाई पनि सचेत गराउनुभयो ।