
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरेका छन् ।
शनिबार ७४ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले शुभकामना दिँदै द्वन्द्वपीडित र परिवालाई यथाशीध्र न्याय दिन सरकार सचेत रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय मानवअधिकार आयोगको कामको प्रशंसा गर्दै आयोगका समस्या र गुनासोको सम्बोधन गर्ने आश्वासनसमेत दिनुभयो ।
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सशस्त्र द्वन्द्वकालीन पीडितको न्याय विषय अनिश्चित बन्दै गएको बताउनुभयो ।
उहाँले फौजदारी कसुरका आरोपी तथा पुर्पक्षमा रहेका व्यक्ति र आयोगले मानवअधिकार उल्लङ्घनमा दोषी भनी कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई समेत राजनीतिक दलले उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछूतका घटनामा पीडितको न्यायमा सहज पहुँच नभएको गुनासोगर्नुभयो ।
कार्यक्रममा डा. गौरी शङ्करलाल दास र प्रतिमा गुरुङलाई स्व दयाराम स्मृति सम्मानबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्ष सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मूल नाराका साथ ७४ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइएको हो । सन् १९४८ को डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको थियो ।
यो घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रूपमा मनाउँदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस्