
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपक खड्काले नेपाल स्काउटले आफूमाथि झूटो आरोप लगाएको जिकिर गर्नुभएको छ ।
काठमाडौमा आइतबार पत्रकार सम्मेलन गरी पूर्वमन्त्री समेत रहनुभएका खड्काले जग्गा कब्जा गरेको र सम्पत्ति तोडफोड गरेको भनेर नेपाल स्काउटका पदाधिकारीहरुले सुनियोजित रुपमा आफ्नो चरित्रहत्या गरेको आरोप लगाउनुभएको हो ।
खड्काले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी र निर्देशक राम भट्टराईविरुद्ध चरित्र हत्या र मानहानीको मुद्दा हाल्ने चेतावनी पनि दिनुभएको छ । भण्डारी हाल स्काउटको संयोजक समेत नभएको समेत जिकिर गर्दै खड्काले भण्डारीले आफूविरुद्ध सुरुदेखि नै खेदो खनेको भन्दै स्काउटको वर्तमान नेतृत्वलाई कारबाही गर्न समेत माग गर्नुभएको छ ।
खड्का नेतृत्वको ल्याण्ड डेभलपमेन्ट प्रालिले १५ वर्षदेखि नेपाल स्काउटको स्वामित्वमा रहेको लैनचौरस्थित व्यवसायिक भवन तथा जग्गा समेत लिजमा लिएको थियो । स्काउटले भने खड्कामाथि १० वर्षको सम्झौता भनेर कीर्ते गरी १५ वर्षको कागज बनाएको, लामो समयदेखि भाडा नतिरेको साथै भौतिक सम्पत्ति तोडफोड गरेको आरोप लगाएको छ । तर, खड्काले भने स्काउटसँगै कुनै प्रकारको असमझदारी नभएको र ल्याण्ड डेभलपमेन्ट प्रालिले नियमित रुपमा भाडा तिर्दै आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा खड्काले नियमित रुपमा भाडा तिरेको बैंक भौचर पनि सार्वजनिक गर्नुभयो । अहिले सतहमा निकालिएको विवाद राजनितिक पूर्वाग्रहले प्रेरित भएर प्रतिशोधका लागि मात्र रचिएको प्रपोगाण्डा भएको खड्काले बताउनुभयो ।
ल्याण्ड डेभलपमेन्ट प्रालिले विज्ञप्ती जारी गर्दै दीपक खड्का पूर्वसञ्चालक भएको तर अहिले कम्पनीसंग कुनै प्रकारको कानूनी एवं आर्थिक संलग्नता नरहेको दाबी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्