
काठमाडौं । जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो ।
जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि रु. दुई करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
कुश्मीसेरादेखि जैमिनी धामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो ।
सडकको स्तरोन्नति र १ किलोमिटर सडक कालोपत्रका लागि यसअघि रु. ८ करोडको लागत अनुमान गरिएको थियो । पहिला २ वर्षमा रु. १ करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रु. २ करोड ७० लाख खर्च भएको थियो ।
कोरोना महामारी, बाढी पहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । संघीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताउनुभयो ।
सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि रु. ५ करोड लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताउनुभयो ।
यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्